धरान, — सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ५९ केजी गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सुपौल जिल्लाका २२ वर्षीय सुबिध कुमार, २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्। उनीहरू सवार भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक भिषणबाबु राईका अनुसार शनिबार बिहान धरान–भेडेटार सडकखण्डअन्तर्गत आँपगाछी क्षेत्रमा नियमित चेकजाँचका क्रममा उक्त गाडी रोकी जाँच गरिएको थियो। भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पीबी २२४१ नम्बरको स्कार्पियो गाडीको सिटमुनि ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा ५९ केजी गाँजा फेला परेको हो।

प्रहरीले गाँजासहित गाडी र तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।