धरान । सुर्खेतमा एक निर्दोष बालिकामाथि भएको बलात्कार तथा हत्या घटनाको विरोधमा धरानमा ‘खबरदारी र्‍याली’ आयोजना गरिने भएको छ। उक्त कार्यक्रम  फागुन २९ गते शुक्रबार आयोजना हुने कार्यक्रम संयोजक स्मित कुमार खत्रीले जानकारी दिएका छन्।

उनका अनुसार र्‍याली दिउँसो ३:०० बजेदेखि ६:०० बजेसम्म सञ्चालन हुनेछ। र्‍याली धरान उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भई भानुचोकसम्म पुग्नेछ। भानुचोकमा पुगेर कोण सभा आयोजना गरिने तथा समाजमा बढ्दै गएको बलात्कार र हत्या जस्ता जघन्य अपराधविरुद्ध आवाज उठाइने कार्यक्रम रहेको खत्रीले बताए।

त्यसपछि साँझ ६:३० बजे दीप प्रज्वलन कार्यक्रम समेत गरिनेछ। आयोजकले सुर्खेतकी निर्दोष बालिकालाई न्याय दिलाउन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै नागरिकलाई शान्तिपूर्ण रूपमा र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन्।