धरान । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर फागुन २१ गते अर्थात भाेलि  मतदान हुँदैछ। सोही अनुसार सुनसरी क्षेत्र नम्बर १ का मतदाताले पनि भोलि मताधिकार प्रयोग गर्नेछन् । मौन अवधिको सन्दर्भमा मतदातालाई आवश्यक सूचना दिन सम्बन्धित क्षेत्रका मतदान केन्द्रहरूको विवरण सार्वजनिक गरिएको हो।

सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका १  देखि २० वडासम्म, बराहक्षेत्र नगरपालिकाका १ देखि ५ वडासम्म तथा रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडामा मतदान केन्द्र तोकिएका छन्। विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय, सार्वजनिक भवन र सभाहलमा मतदानको व्यवस्था मिलाइएको छ।

यस क्षेत्रमा सबैभन्दा बढी मतदाता संख्या धरान–१५ मा १५ हजार ७०८ रहेको छ। त्यसैगरी धरान–११ मा १० हजार ७८८, धरान–१७ मा १० हजार २२३ र धरान–८ मा ८ हजार ६९० मतदाता रहेका छन्। अन्य वडाहरूमा पनि हजारौं मतदाता सहभागी हुने निर्वाचन कार्यालयले जनाएको छ।

मतदाताहरूले आफ्नो नाम दर्ता भएको मतदान केन्द्रमा उपस्थित भई मताधिकार प्रयोग गर्नुपर्नेछ। मतदानका लागि नागरिकता वा मतदाता परिचयपत्र साथमा ल्याउन अनुरोध गरिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापनको तयारी पूरा गरिएको सम्बन्धित निकायले जनाएको छ।