सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी, क्षेत्र नं. १ सुनसरीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो क्षेत्रगत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
‘शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार: सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधार’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको उक्त प्रतिबद्धतापत्रमा भौतिक पूर्वाधारदेखि सामाजिक सुधारसम्मका योजनालाई प्राथमिकताका साथ अघि सारिएको छ।
१. भौतिक पूर्वाधार र सडक सञ्जाल
एमालेले धरान तथा आसपासका क्षेत्रको सडक सञ्जाल व्यवस्थित र स्तरोन्नत गर्ने लक्ष्य लिएको छ।
सडक निर्माण: धरान–लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने, धरान–चतरा–बराहक्षेत्र तथा धरान–भेडेटार सडकको स्तरोन्नति गर्ने।
पुल तथा लिंक रोड: अँधेरी खोला, कोकाह र सेउती खोला लगायतका स्थानमा बाँकी पुल निर्माण सम्पन्न गर्ने।
केबलकार योजना: धरानदेखि भेडेटार वा नाम्जेसम्म सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा केबलकार सञ्चालन गर्ने।
२. पर्यटन र सांस्कृतिक संरक्षण
पर्यटनलाई क्षेत्रको आर्थिक वृद्धिको प्रमुख आधार बनाउने उद्देश्यसहित विभिन्न योजना अघि सारिएका छन्।
धार्मिक पर्यटन: पिण्डेश्वर मन्दिर केन्द्रित महाकुम्भ व्यवस्थापनका लागि कुम्भ परिषद् गठन गर्ने तथा बराहक्षेत्र, विष्णुपादुका र बुढासुब्बा मन्दिर क्षेत्रको एकीकृत विकास गर्ने।
साहसिक खेल पर्यटन: धरानलाई प्याराग्लाइडिङ, र्याफ्टिङ र साइक्लिङ जस्ता साहसिक खेलकुदको केन्द्रका रूपमा विकास गर्ने।
भ्यू टावर तथा पार्क: मनमोहन स्मृति पार्क, सप्तरंगी पार्क र गोर्खा स्मृति पार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने।
३. शिक्षा र स्वास्थ्य क्षेत्र सुधार
स्वास्थ्य: बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई स्वायत्त विश्वविद्यालयका रूपमा विकास गर्ने पहल गरिने, साथै आईसीयू सेवा र मर्चरी क्षमता विस्तार गरिने उल्लेख छ। धरान नगर अस्पताल सञ्चालनमा ल्याउन पहल गरिनेछ।
शिक्षा: सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस मा एग्रिकल्चर इन्जिनियरिङ विभाग सुदृढीकरण गरिने योजना छ।
४. खानेपानी, सुकुम्बासी समस्या र कृषि
खानेपानी: धरानको खानेपानी वितरण प्रणाली सुदृढ गरी सहज र नियमित आपूर्ति सुनिश्चित गर्ने।
जग्गा व्यवस्थापन: भूमिहीन र सुकुम्बासी समस्या समाधानका लागि लालपूर्जा वितरणलाई प्राथमिकतामा राख्ने।
कृषि विकास: वराहक्षेत्र र धरानका विभिन्न वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै आधुनिक सिँचाइ प्रणाली लागू गर्ने।
५. उद्यम, रोजगारी र अन्य सुधार
औद्योगिक क्षेत्र: धरान–६ स्थित औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने तथा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्ने।
श्रमिक कल्याण: श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने र स्वरोजगारका लागि सहुलियतपूर्ण लगानी व्यवस्था गर्ने।
वातावरण संरक्षण: नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्ने तथा जङ्गली हात्ती र बाँदरबाट हुने बालीनाली क्षति न्यूनीकरणका लागि ठोस योजना कार्यान्वयन गर्ने।
प्रतिबद्धतापत्रमार्फत एमालेले सुनसरी क्षेत्र नं. १ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि विकासमार्फत समृद्ध बनाउने लक्ष्य लिएको जनाएको छ।


