धरान। सुनसरी क्षेत्र नम्बर १ का लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रत्यक्ष उम्मेदवार टिकाराम लिम्बु ले धरान उपमहानगरपालिका–११ बाट घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

IMG_20260224_095909

निर्वाचन परिचालन समिति धरान–११ को कार्यालयबाट शुभ–सगुन ग्रहण गर्दै सुरु गरिएको घरदैलोमा समानुपातिक उम्मेदवार मौसमी राई को समेत सहभागिता रहेको थियो। उम्मेदवार टिका लिम्बु, मौसमी राई तथा नेता–कार्यकर्ता र समर्थकहरूले घरदैलो गर्दै स्थानीयसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका थिए।

IMG_20260224_100427

सो अवसरमा बोल्दै लिम्बुले आफू ताप्लेजुङको दुर्गम गाउँमा जन्मिए पनि कर्मभूमि सुनसरी नै भएको उल्लेख गर्दै आफ्नो युवा उमेर यही क्षेत्रको समृद्धिका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

IMG_20260224_100307

“म ताप्लेजुङको दुर्गम गाउँमा जन्मेर सुनसरीमा कर्म गर्न आएको मान्छे हुँ। मेरो युवा उमेर यहीको समृद्धिका लागि हुनेछ। यहाँका जनताको साथमा सधैं अग्रपंक्तिमा रहेर काम गर्नेछु,” उनले भने। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई अनुमोदन गर्न मतदातासँग आग्रह गरे।

IMG_20260224_100336

लिम्बुले सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको गति तीव्र पार्ने, प्रविधिमैत्री सेवा विस्तार गर्ने तथा युवामुखी रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

IMG_20260224_100401

घरदैलो कार्यक्रममा पूर्व सभामुख प्रदीप भण्डारी, पूर्व नगर प्रमुख मिन सुब्बा, प्रदेशसभा सदस्य विजय राई तथा रमेश बस्नेत लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा युवा तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो।