धरान । सुनसरी क्षेत्र नम्बर १ का लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रत्यक्ष उम्मेदवार टिकाराम लिम्बुले जेन्जि युवाहरूको सहभागितासहित घरदैलो अभियान अघि बढाइरहेका छन् ।
आज धरान उपमहानगरपालिका वडा नम्बर ३ बाट शुभ–सगुन तथा टिका ग्रहण गर्दै सुरु गरिएको अभियान क्रमशः वडा नम्बर ७, ९ र १२ मा विस्तार गरिएको थियो। घरदैलोका क्रममा विभिन्न उमेर समूहका मतदातासँगै उल्लेख्य संख्यामा युवाहरूको सक्रिय सहभागिता देखिएको छ।
भदौ २३ र २४ का घटनापछि जेन्जि युवाका मागहरू राजनीतिक दलहरूले सम्बोधन नगरेको भन्ने आलोचना सार्वजनिक रूपमा उठ्दै आएको सन्दर्भमा उम्मेदवार लिम्बुले युवासँग प्रत्यक्ष संवाद र सहकार्यलाई प्राथमिकता दिएको बताएका छन्। उनले युवाको भावना, अपेक्षा र असन्तोषलाई सम्मान गर्दै विकासको मूलधारमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
लिम्बु स्वयं युवा भएकाले रोजगारी सिर्जना, सीपमूलक तालिम, स्वरोजगार प्रवर्द्धन, खेलकुद तथा प्रविधिमैत्री पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाएको उल्लेख गरेका छन्। “युवालाई साथमा लिएर अघि बढे मात्रै समृद्धि सम्भव हुन्छ,” भन्ने सन्देशसहित उनले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
घरदैलो कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको समेत सहभागिता रहेको थियो।
-सन्देश तिमल्सिना


