धरान । धरानमा आयोजना हुन लागेको धरान नगरस्तरीय रनिङ शिल्ड अन्तर लोकनृत्य प्रतियोगिता–२०८२को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। धरान नृत्यकला प्रतिष्ठानको आयोजनामा तेस्रो संस्करणकाे रूपमा हुन लागेको प्रतियोगिता आज फागुन ५ गते बिहान ११ बजेदेखि धरान–१५ स्थित चुम्लुङ हिम भवनमा सुरु हुने कार्यक्रम संयोजक एवं प्रतिष्ठानकी अध्यक्ष नन्दा राईले जानकारी दिएकी छिन्।

प्रतियोगितामा ग्रुप डान्स अन्तर्गत सांस्कृतिक लोकनृत्य प्रस्तुति रहनेछ। यस वर्ष प्रतियोगितामा होली गार्डेन एकेडेमी, यूएन स्कूल, पर्वत स्कूल, युनाइटेड गोर्खा स्कूल, शिक्षा सन्देश स्कूल, पब्लिक स्कूल, सुनाखरी एकेडेमी, युरेका रेसिडेन्सियल सेकेन्डरी स्कूल, धरान मेघा हिमालयन स्कूल, आइडियल स्कूल, डिपोट स्कूल, लिगामेन्ट स्कूल, लिबर्टी स्कूल र लोटस स्कूल गरी १४ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, उपविजेतालाई २५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ तथा चौथो हुने टोलीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै विजेता टोलीलाई नटराजको ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य नृत्य संस्कृति प्रवर्द्धन गर्दै विद्यालयस्तरका प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु रहेको प्रतिष्ठानले जनाएको छ।