सुनसरी। नेकपा (एमाले) ले सुनसरी निर्वाचन क्षेत्र नं. १ मा समग्र विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा रोजगारीका क्षेत्रमा व्यापक योजना सार्वजनिक गरेको छ। निर्वाचन प्रचार–प्रसार समिति मार्फत सार्वजनिक प्रतिबद्धतामा धरान र आसपासका क्षेत्रलाई दीर्घकालीन रूपमा समृद्ध बनाउने लक्ष्य उल्लेख गरिएको छ।

एमालेले यस पटक सुनसरी क्षेत्र नं. १ बाट टीकाराम लिम्बुलाई उम्मेदवार बनाएको छ। पार्टीले विकासमुखी एजेण्डालाई केन्द्रमा राख्दै लिम्बुको उम्मेदवारीमार्फत क्षेत्रको समग्र रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ।
एमालेले सर्दु जलाधारको सिमाङ्कन विवाद समाधान गर्दै जलाधार संरक्षणलाई प्राथमिकता दिने,काेशे ढुङ्गा - धरान -लेउती सुरुङ मार्ग निर्माण गर्ने साथै तरहराबाट कालाबन्जार हुँदै चतरा सम्म सडक विस्तार गरिने जनाएको छ।
स्वास्थ्य क्षेत्रतर्फ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधार, मातृ–शिशु अस्पताल सञ्चालन तथा भौतिक पूर्वाधार विस्तार गर्ने योजना समेटिएको छ। प्रतिष्ठानसँगको सहकार्यमा धरान नगर अस्पताल सञ्चालन तथा सेवा विस्तार गरिने उल्लेख छ।
खानेपानी व्यवस्थापनलाई सुदृढ गर्दै ग्रामीण वडाहरूमा दीर्घकालीन पिउने पानीको व्यवस्था मिलाइने र धरान–४, ५, ६ तथा २० मा विशेष योजना लागू गरिने बताइएको छ। सर्दु र सेउती खोलामा बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध तथा संरचना निर्माण गरिने पनि जनाइएको छ।
कृषि तथा उद्योग क्षेत्रमा उत्पादनको बजारीकरण, सिँचाइ सुविधा विस्तार, सामूहिक उत्पादन प्रवर्द्धन र जडिबुटी प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ।
प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी स्थल निर्माण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने योजना अघि सारिएको छ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको स्तरउन्नति, खेलमैदान निर्माण तथा स्तरोन्नतिमार्फत युवालाई खेलकुदतर्फ प्रोत्साहन गरिने प्रतिबद्धता जनाइएको छ। युवाको सीप र चाहनाअनुसार व्यवसाय तथा रोजगारी सुनिश्चित गर्ने नीति पनि सार्वजनिक गरिएको छ।
त्यस्तै, अव्यवस्थित बसोबासलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थित बनाउने, गाउँ–बजार जोड्ने पुल निर्माण गर्ने तथा वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ।
एमालेले यी योजनामार्फत सुनसरी–१ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। - सन्देश तिमल्सिना


