धरान ।  प्रतिष्ठित २६औँ बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न हुँदै उपाधि प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंले उचालेको छ । प्लानिङ ब्वाईजले चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो । धरान रंगशालामा हजारौँ दर्शकको उपस्थितिमा शनिबार सम्पन्न फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो ।  खेलको पहिलो हाफ दुवै टोलीबीच बराबरीमै सकिएको थियो । दुवै पक्षले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण गोल हुन सकेन ।
दोस्रो हाफ सुरु भएसँगै खेलको गति अझ तीव्र बन्यो । दुवै टोलीले आक्रमक लय बढाए । ६३औँ मिनेटमा प्लानिङ ब्वाईजका फरवार्ड प्रताप सिंह राईले पाएको अवसरलाई सदुपयोग गर्दै सुन्दर गोल गरे । मिडफिल्डबाट आएको सटिक पासलाई उनले नियन्त्रणमा लिँदै डिबक्सभित्रबाट गरेको प्रहारले जाली चुम्यो । उक्त गोल नै खेलको निर्णायक गोल सावित भयो । त्यसपछि चर्च ब्वाईजले बराबरी गोल फर्काउन निरन्तर दबाब बनाए पनि प्लानिङ ब्वाईजको रक्षापंक्ति र गोलरक्षकको सशक्त प्रदर्शनका कारण सफल हुन सकेन । 
उपाधिसँगै प्लानिङ ब्वाईजले नगद १० लाख रुपैयाँ ट्रफी प्रमाणपत्र र मेडल  प्राप्त गर्यो भने उपविजेता चर्च ब्वाईजले ५ लाख रुपैयाँ  ट्रफी प्रमाणपत्र र मेडल हात पार्यो । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ प्लानिङ ब्वाईजकै पुजन थापा घोषित भए । उनले  नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। खेलभरि उनले मिडफिल्डमा उत्कृष्ट नियन्त्रण, सटिक पास वितरण र खेलको गति निर्धारण गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए । व्यक्तिगत विधागत पुरस्कारतर्फ पनि प्लानिङ ब्वाईजकै खेलाडीहरूको दबदबा रह्यो। योगेश धिमाल उत्कृष्ट गोलरक्षक घोषित भए भने निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर बने। चर्च ब्वाईजका रोहन कार्की उत्कृष्ट मिडफिल्डर र आबायोमी उत्कृष्ट फरवार्ड चुनिए। यी सबै उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

44
सर्वाधिक गोलकर्ताको पुरस्कार भने चर्च ब्वाईजका प्रताप सिंह राई तथा झापा–११ का एरोन थापा र राजेश दाहालले संयुक्त रूपमा जिते। प्रतियोगिताभर तीनै खेलाडीले समान २–२ गोल गरेका थिए। उनीहरूले जनही १२ हजार रुपैयाँ पुरस्कार पाए ।
 गोल्डकपमा पहिलो पटक सहभागी प्लानिङ ब्वाईजले सुरुदेखि नै सन्तुलित प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो । समूह चरणदेखि नै उनीहरूले अनुशासित खेल, बलियो रक्षापंक्ति र तीव्र काउन्टर अट्याक रणनीति अपनाएका थिए । फाइनलमा पनि त्यही रणनीति प्रभावकारी देखियो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने प्लानिङ ब्वाईजका प्रताप सिंह राई घोषित भए । निर्णायक गोलका साथै समग्र प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उनले पुरस्कारस्वरूप एक थान डियो स्कुटर हात पारे । 
धरान फुटबल क्लब, सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विषिष्ट अतिथि धरान उपमहानगर पालिकाका कार्यावहाक मेयर अइन्द्र बिक्रम बेघा , अखिल नेपाल फुटबल संघ एन्फा महासिचव किरण राई लगायतले  विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ट्रफी, नगद तथा सम्मानपत्र प्रदान गरे ।
बुढासुब्बा गोल्डकप नेपाली फुटबलको एक ऐतिहासिक र प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित हुँदै आएको छ । यस प्रतियोगिताले मोफसलमा फुटबलको लोकप्रियता बढाउने मात्र नभई प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर दिलाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्षको संस्करण पनि प्रतिस्पर्धात्मक, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको  धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले वताए ।
                                               पत्रकार प्रधान सम्मानित    

1 1
प्रतियोगिताको समापन समारोहका अवसरमा  धरान को खेलकुद क्षेत्रसँगै बुढासुब्बा गोल्डकप को प्रवद्र्धन, प्रचार–प्रसार तथा समग्र विकासमा पत्रकारितामार्फत पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै कपुरी न्युजकी रश्मि प्रधानलाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।  प्रधानले लामो समयदेखि धरानलाई आफ्नो कार्यक्षेत्र बनाएर निरन्तर खेल पत्रकारितामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । करिब डेढ दशकदेखि उनले स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका खेल गतिविधिहरूलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्दै खेलकुद क्षेत्रलाई थप उर्जा प्रदान गरेकी छन् ।   स्थानीय तहमा क्रियाशील पत्रकारहरूकै कारण धरानजस्तो सहरमा खेलकुद गतिविधिले निरन्तरता पाइरहेको उल्लेख गर्दै आयोजकले  आगामी दिनमा पनि यस्ता योगदानलाई उच्च मूल्याङ्कन गरिने प्रतिबद्धता जनाएका थिए ।