धरान — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीले सुनसरी निर्वाचन क्षेत्र नं. १ का लागि आफ्नो विस्तृत ‘प्रतिवद्धता पत्र २०८२’ सार्वजनिक गरेको छ।करिब २५ कम्युनिस्ट तथा समाजवादी घटक मिलेर बनेको उक्त पार्टीले खानेपानी समाधान, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ।
पूर्वाधारमा जोड
प्रतिवद्धता पत्रअनुसार धरान–लेउती बहुउद्देश्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गराउन पहल गरिने उल्लेख छ। धरानका वडाहरू जोड्ने लिङ्क रोड निर्माण, सेउती र सर्दु खोलामा तटबन्धसहित करिडोर विकास तथा सवारी व्यवस्थापनका लागि ‘अटोजोन’ स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
खानेपानी र ऊर्जामा सुधार
धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि पानीको स्रोत यकिन गरी दिगो व्यवस्थापन र वितरण प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाइएको छ। ११ केभी र ३३ केभी हाईटेन्सन लाइन व्यवस्थापन गरी सुरक्षित बसोबास सुनिश्चित गर्ने योजना पनि समेटिएको छ।
स्वास्थ्य र शिक्षा क्षेत्र
स्वास्थ्यतर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रविधियुक्त र सुविधासम्पन्न विश्वविद्यालयका रूपमा विकास गर्ने तथा धरान नगर अस्पताललाई पूर्ण सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
शिक्षातर्फ धरानलाई ‘शैक्षिक हब’ बनाउने, आईटी पार्क स्थापना गर्ने र जेन–जी पुस्तालाई लक्षित गरी प्रविधिमैत्री स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
पर्यटन सर्किटको अवधारणा
विजयपुर दरबार क्षेत्र, पिण्डेश्वर, बुढासुब्बा र दन्तकालीलाई जोडेर धार्मिक–सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने तथा चतरा क्षेत्रमा जलपर्यटन विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
सुकुम्वासी र सामाजिक कार्यक्रम
वास्तविक सुकुम्वासीलाई आवास अधिकार दिलाउने, भोगचलनका आधारमा धनीपूर्जा वितरणका लागि नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी भूतपूर्व ब्रिटिश गोरखा सैनिकको समान पेन्सनका लागि पहल, महिला हिंसा पीडितका लागि मनोसामाजिक परामर्श केन्द्र, अपाङ्गमैत्री वातावरण तथा सीपमूलक रोजगारी कार्यक्रम सञ्चालन गर्ने योजना पनि उल्लेख छ। जनगुनासो सुन्न २४ घण्टे हटलाइन सेवा सञ्चालन गर्ने घोषणा गरिएको छ।
नीतिगत एजेन्डा
पार्टीले संविधान २०७२ लाई जनचाहना अनुसार परिमार्जन गर्ने र संघीय प्रणालीलाई प्रभावकारी बनाउन शासकीय स्वरूपमा सुधार गर्ने एजेन्डा पनि अघि सारेको छ।
‘तारा’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएको पार्टीले विगतका जनप्रतिनिधिले वाचा पूरा नगरेकाले जनतामा निराशा बढेको दाबी गर्दै आफूहरूले परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएको छ।


