• सन्देश तिमल्सिना
सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसँगै राजनीतिक दलहरू घरदैलो अभियानमा सक्रिय बनेका छन् । यसैक्रममा नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बूले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिँदै आज धरान उपमहानगरपालिका–१५ मा मतदातासँग भेटघाट गर्नुभएको छ ।
यसअघि लिम्बूले बराहक्षेत्र नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियान सम्पन्न गरिसक्नुभएको छ । बराहक्षेत्रका वडा नम्बर १, २, ३, ४ र ५ मा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिसकेपछि उहाँ अहिले धरान क्षेत्रमा केन्द्रित हुनुभएको हो ।
धरान–१५ मा भएको घरदैलोका क्रममा लिम्बूले स्थानीयसँग विकास, रोजगारी, खानेपानी, सडक तथा पूर्वाधार निर्माणका विषयमा छलफल गर्नुभएको थियो । मतदाताले उठाएका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिँदै ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको लिम्बूको भनाइ छ ।
घरदैलोका क्रममा स्थानीयवासीले लिम्बूलाई स्वागत गर्दै आगामी निर्वाचनमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
सुनसरी क्षेत्र नम्बर–१ मा नेकपा, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसलगायतका प्रमुख राजनीतिक दलहरूबीच प्रतिस्पर्धा रहने देखिएको छ । निर्वाचन नजिकिँदै जाँदा घरदैलो अभियानसँगै उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राखिरहेका छन् ।


