सुनसरी — प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा  फाइनलमा प्रवेश गरेको छ ।  बुधबार धरान रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पोखराको लालीगुराँस एसोसिएसनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि यात्रालाई मजबुत बनाएको हो । 

खेलको सुरुवातदेखि नै दुवै टोली आक्रामक देखिएका थिए । लालीगुराँसले खेलको छैटौँ मिनेटमै अग्रता लिँदै प्लानिङ ब्वाइजमाथि दबाब सिर्जना गरेको थियो । सिकन्दर सिद्धिकीले मिडफिल्डबाट आएको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेका थिए, जुन बल सिधै जाली चुम्न पुगेको थियो । प्रारम्भिक अग्रतासँगै लालीगुराँस आत्मविश्वासी देखिए पनि प्लानिङ ब्वाइजले संयमित खेल प्रस्तुत गर्दै अवसरको खोजी जारी राख्यो ।  पहिलो हाफमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल थप हुन सकेन । खेलको २५औँ मिनेट निकै विवादास्पद बन्यो, जब लालीगुराँसका सिकन्दर सिद्धिकी, प्लानिङ ब्वाइजका पापाई केवे तथा पोखराका टिम म्यानेजर ईश्वर बस्याल रातो कार्ड पाउँदै मैदान बाहिरिनुप¥यो । खेलाडीबीचको धकेलाधकेल र मैदानभित्रको तनावले खेल  ७ मिनेट अवरुद्धसमेत भएको थियो । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित भए ।  

दोस्रो हाफमा प्लानिङ ब्वाइज थप आक्रामक रूपमा प्रस्तुत भयो । खेलको ६०औँ मिनेटमा निर्णायक मोड आयो, जब लालीगुराँसका अकोएटे जुनियरले पेनाल्टी क्षेत्रभित्र विलियम एलेक्सलाई फल गरे । मुख्य रेफ्री मनिष अधिकारीले तत्काल पेनाल्टीको संकेत गर्दै प्लानिङ ब्वाइजलाई सुनौलो अवसर प्रदान गरे । एलेक्सले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा पुर्याए । बराबरीपछि खेल झन् प्रतिस्पर्धात्मक बन्यो । दुवै टोलीले जितका लागि निरन्तर आक्रमण बुने । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा, ८७औँ मिनेटमा प्रताप सिंह राईले उत्कृष्ट व्यक्तिगत प्रयासमा निर्णायक गोल गर्दै प्लानिङ ब्वाइजलाई २–१ को अग्रता दिलाए ।  उत्कृष्ट प्रदर्शन गरेका प्रताप सिंह राई ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।  अब प्लानिङ ब्वाइज युनाइटेडले उपाधिका लागि फाइनलमा झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।