सुनसरी — पोखराको लालीगुराँस एसोसिएसन धरानमा जारी २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै लालीगुराँसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । धरान रंगशालामा सोमबार सम्पन्न खेलको निर्धारित ९० मिनेट तथा थप १५ मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि मुख्य रेफ्री मनिष अधिकारीले खेलको निर्णय ट्राइबेकरमार्फत लिएका थिए । ट्राइबेकरमा लालीगुराँसका लागि राम थापा, आशिष गुरुङ, टिकराज गुरुङ, सुदीप गुरुङ र अब्दुल युसुफ हाउलेले गोल गरे । धरान फुटबल क्लबका तर्फबाट नगेश राई, प्रज्वल थापा, विवेक राई र सविन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार लालीगुराँसका गोलरक्षक कुम्भ देउवाले रोकेपछि धरान प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । निर्णायक गोल रोक्दै उत्कृष्ट प्रदर्शन गरेका लालीगुराँसका गोलरक्षक कुम्भ देउवा ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

1 जितसँगै लालीगुराँसले फाइनल यात्राका लागि बुधबार प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि प्रिक्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई १–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने लालीगुराँस एसोसिएसन बाई पाएर सिधै क्वार्टरफाइनलमा पुगेको थियो । मंगलबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा झापा–११ र सातदोबाटो युथ क्लबबीच धरान रंगशालामा प्रतिस्पर्धा हुनेछ । फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।