धरान — साविक उपविजेता चर्च बोइज युनाइटेड २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार धरान रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा चर्च बोइज युनाइटेडले चारपटकको विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। खेलको पहिलो मिनेटमै रिचार्ड विल्सनले गरेको गोल नै चर्च बोइजको जितका लागि निर्णायक बन्यो। निर्णायक गोल गरेका विदेशी खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। खेलको दोस्रो मिनेटमै दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। नेपाल पुलिसका सञ्जीव लामा र चर्च बोइज युनाइटेडका दिपेश गुरुङले खेल सुरु भएको दुई मिनेटमै रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए। यस जितसँगै चर्च बोइज युनाइटेडले मंगलबार हुने सातोदोबाटो युथ क्लब र झापा–११ बीचको अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ। सोमबार आयोजक धरान फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच अर्को क्वार्टरफाइनल खेल हुनेछ। फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ।