धरान । नेपालको विकास परियोजनामा भारतीय दूतावासले सिधै रकम दिनु गलत भएको नेताहरुले वताएका छन् । एकीकृत समाजवादीका नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको विकास योजनामा सिधै भारतीय दूतावासले २० करोड रुपैयाँसम्म बजेट दिन पाउने गरी भएको सम्झौता गलत भएको वताएका हुन् । पार्टी कार्यालय आलोकनगरमा शनिबार सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले दुतावासले सोझै रकम दिनु देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल नभएको वताउदै राष्ट्रिय हित विपरीत रहेको प्रतिक्रिया दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गरी नेपालको विकास योजनामा सिधै भारतीय दूतावासले २० करोड रुपैयाँसम्म बजेट दिन पाउने गरी भएको सम्झौता सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकका लागि लज्जाजनक तथा राष्ट्रियहित विरुद्ध रहेको बताएका छन् । गत बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भारतीय दूतावासले नेपाली परियोजनामा सिधै २० करोड रुपैयाँसम्म रकम दिन सक्ने समझदारी भएको थियो । यसअघि दूतावासले यस्तो विकास परियोजनामा ५ करोड रुपैयाँसम्म दिन सक्ने व्यवस्था थियो ।


