धरान ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिनुभएको छ। 

आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। 

“नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। प्रधानमन्त्रीले भन्नुभयो, जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्। नेपालका  कतिपय नीति नियमहरू पर्यटकमैत्री  नभएकाे भन्दै उहालेभन्नु भयाे    नीति नियमहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौं। त्यसैले तपाईहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं। पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ। यसमा पनि सरकार लचिलो हुनुपर्छ।”  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दवावमा निर्माण गरिएका विमानस्थलहरू कामयावी हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले खम्बा विद्रोह देखाएर पर्यटकका लागि निषेधित क्षेत्र गरिएकोमा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कुटनीतिक पहल लिनुपर्ने बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले अन्तरनिकाय समन्वय कमजोर हुँदा निर्धारित अवधिभित्र काम हुन नसकेको बताउँदै त्यसका लागि एकीकृत कार्ययोजना जरूरी रहेको बताउनुभयो। उहाँले मन्त्रालयमा गुनासो सम्बोधनको प्रबन्ध मिलाइएको, त्रिभुवन विमानस्थलको स्तरोन्नति गरिएको, भूकम्प प्रभावित ७९ प्रतिशत पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गरिएको, नेपाल वायुसेवा निगमले ३ वर्षमा ३ गुणा मुनाफा गरिएको, नेपालबाट विभिन्न रूपमा विदेसिएका १४५ वटा मूर्ति फिर्ता ल्याइएको, राजतन्त्रकालदेखिका पशुपतिका १०० भन्दा बढी सल्लाहकारहरू खारेज गरिएको बताउनुभयो।