धरान । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो तागेतले भ्याए सम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिने वताएका छन् । उनले आफू सधै संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधनगर्दै राष्ट्रपति पौडेलले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएका हुन् । ‘कोशी प्रदेश उद्योग व्यवसायको धरोहर भएकोले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीको भूमिका अपरिहार्य रहेको छ ’ उनले भने, देशको उत्पादन निर्यात र आयात प्रतिस्थापन गर्न सकेका छैनौं, यस्तो अवस्थामा विदेशी मुद्राको संचिति मजबुत हुनु आवश्यक छ ।’ मुलुकमा सम्मानजनक रोजगारी नहुँदा र यहाँँका युवा शक्ति विदेश पलायन भइरहेको प्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरे । ‘वन, खनिज र कृषिमा आधारित उद्योगको स्थापना गरि रोजगारी सृजना गरौं, यसको नेतृत्व उद्योगी व्यवसनयीले नै लिनुपर्छ । उनले भने, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा हामी सबै देशवासी जुटौं ।’ मुलुकमा उद्योेग, व्यवसायमैत्री नीति आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई थियो । ‘सूचना प्रवधि नीतिलाई सहज गरिदिने हो भने व्यापारघाटामा महत्वपूर्ण योगदान हुन्छ , उनले भने, जलवायू परिवर्तनले निम्तियाइ रहेको जटिल परिस्थितिप्रति हामी सचेत भएर महत्वपूर्ण रूपमा काम गर्नुपर्छ।’ कोशी प्रदेशमा रहेका हलेसी, बराहक्षेत्र, पाथिभारालगनयतका धार्मिक तथा आकर्षक पर्यटकीय क्षेत्रको विकास गरेर अर्थतन्त्रमा योगदान पुर्याउन आवश्यक रहेका राष्ट्रपति पौडेलले बताए । स्वतन्त्रता सेनानीलाई गरेको सम्मान लोकतन्त्रको सम्मान भएको उनको भनाइ थियो । विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका हुन् । कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, धेरै निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो ।


