धरान एमालेभित्र अन्तरकलह
धरान / सिनियर नेतालाई पाखा लगाएर धरान एमालेले प्रतिनिधि छनोट गरेपछि असन्तुष्ट पक्ष पार्टी कार्यालय बाहिर छन् ।बुधबार प्रतिनिधि छनोट भएकाहरुलाई प्रमाणपत्र प्रदान गर्ने र शुभकामना दिने कार्यक्रममा एमाले केन्द्रीय सदस्य मन्जु भन्डारी, प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्घीय निर्वाचन क्षेत्र सुनसरी १ इन्चार्ज मुरारी सुवेदी, पूर्व सभामुख प्रदीप भण्डारी, प्रदेश कमिटी सदस्य तथा एमालेका पुराना नेता खम्बसिह गुरुङ देखिएनन् । गुटउपगुटको उल्झनबाट बाहिर निस्कन नसकेको एमाले धरानमा अझै एकले अर्को पक्षलाई पाखा लगाउनु उपलब्धीका रुपमा हेरिंदै आएको छ ।

एमालेभित्रै जुँघाको लडाइँले प्रदेश कमिटी सदस्य पूर्व मेयर मनोजकुमार मेयाङ्बो, किशोरकुमार कार्कीलाई पार्टीमा फर्कने कुनै गुन्जायस छाडेको छैन । नेकपा विघटनपछि धरान एमालेमा देखिएको तीव्र विचलनलाई मिलाउन भूमिका निर्वाह गरेका मुरारी पक्षलाई वर्तमान धरान एमाले नेतृत्वले ’बाइपास’ को नीति अख्तियार गर्दै आएको छ । हाल एमाले धरान अध्यक्ष विद्यार्थी आन्दोलनबाट आएका आलाकाँचा नेता हर्कजङ एभेङलाई अध्यक्ष बनाउन मुरारी पक्षले भूमिका निर्वाह गरेको थियो । तर हाल उक्त निर्णय नै मुरारी पक्षलाई प्रत्युत्पादक बनेको छ । पुस ५ मा पार्टी जोगाउनेतर्फ भन्दा पनि फरक भूमिकामा रमाउनेहरु विषेश गरेर ‘कालो बेलुन’ मा रमाउनेले हाल पार्टी कब्जा गरेको देख्दा एमाले कार्यकर्ता अचम्मित रहेको भन्दै आलोचना गर्ने गरेका छन् । प्रदेश प्रतिनिधिबाट मुरारी सुवेदीलाई पाखा लगाउन सकिएकामा एमालेको धरान नेतृत्वले हालको सबैभन्दा ठूलो उपलब्धीका रुपमा ‘चियाचर्चा’ हुने गरेको छ ।४४ प्रत्याषीले प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी दिएकामा १८ जनालाई सर्सम्मत छनोट गरिएको थियो । सिनियर नेतालाई पाखा लगाउन खोजेको आरोपसहित दर्जन बढी असन्तुष्ट छनोट प्रक्रिया छाडेर पार्टी कार्यालयबाट बाहिरिएका थिए । सहमतिमा सबैलाई समेटेर प्रतिनिधि छनोट गरिनुपर्ने मागका बीच मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौलासहित धरान अध्यक्ष हर्कजङ एभेङ समूहले असन्तुष्ट पक्षको मतलाई इन्कार गरेको थियो । मुरारी सुवेदीलाई प्रदेश प्रतिनिधि पठाएपछि भूगोलको नेतृत्व लिएर आउने र पार्टीमा हाबी हुने डरले धरानमा ‘मुरारी इतर’ ले बाइपास गरेको एमाले वृत्तमा गाइँगुइँ छ । मुरारी पक्षले सङ्घीय निर्वाचन क्षेत्रका इन्चार्ज, सहइन्चार्ज, प्रदेशका इन्चार्ज, सह इन्चार्ज, माननीयहरु, पूर्व सभामुखलगायतलाई प्रतिनिधि छनोट गर्नुपर्ने माग राखेका थिए । धरान एमाले नेतृत्वले प्रस्तावमा कुनै ‘इन्ट्रेस्ट’ नदेखाएपछि असन्तुष्ट पक्ष पार्टी कार्यालय छाडेर निस्किएका थिए । यसअघि धरान अधिवेशनमा समेत एकपक्षीय नेतृत्व चयन भएको प्रष्ट देखिएको थियो । जिल्ला भूगोलका केन्द्रीय सदस्यहरु जगदीश कुसियत, मन्जु भन्डारी, लक्ष्मी गौतम, भगवती चौधरीको अनुपस्थितिमा अधिवेशन गरिएको थियो । त्यस्तै जिल्ला कमिटीमा केही समय अघि सरला कायस्थ, रवि खनाललगायत मनोनित गर्दा मुरारी पक्षको ‘इन्ट्रेस्ट’ मा मनोनयन गरिएको एमाले धरान नेतृत्व पक्षको आरोप छ । गुटउपगुटमा रमाइरहेको एमाले धरान प्रदीप भण्डारी, मुरारी सुवेदी, खम्बसिह गुरुङलगायतका पुराना नेतालाई बाहिर राखेर पार्टी बन्ला भन्ने गम्भीर प्रश्न वृत्तमा देखिएको छ । प्रतिशोधपूर्ण भावनाले निषेधको राजनीति गरेको असन्तुष्ट मुरारी सुवेदी पक्षको आरोप छ । तर एमाले धरान अध्यक्ष हर्कजङ एभेङले मार्ग प्रशस्त गर्न र सहमतिका लागि नोमिनेशन फिर्ता लिएको बताउँछन् । ‘म आफैं पनि आकांक्षी थिएँ, मैले पनि सहमतिका लागि नोमिनेशन फिर्ता लिएँ ।’ अध्यक्ष एभेङले भने । पार्टीमा गुटउपगुटको कुरा नभएको र कसैलाई बाइपास समेत नगरेको एभेङले दाबी गरे । उनले कसैको व्यक्तिगत इन्ट्रेस्टलाई गुट भन्न नहुने बताए । असन्तुष्ट पक्ष पार्टीमा नभएको, सहमतिमै नोमिनेशन फिर्ता लिएको एभेङले बताए । भूगोलबाट नेतृत्व गरिरहेका नेता मुरारी सुवेदीले भूगोलबाटै प्रतिनिधि जाने आशय व्यक्त गरेका थिए । तर नगर नेतृत्व पक्षले मनोनितबाट जानु पर्ने बताएपछि सुवेदीले प्रस्ताव अस्वीकार गरेका थिए । स्थानीय र सङ्घीय निर्वाचनमा पार्टी नेतृत्व र निर्णयविपरीत एमालेभित्र गुटउपगुट चलेको थियो । परिणामतः नेपालको कुनै समयको ‘साङ्घाइ’ भनिएको धरान एमालेमाथि ‘आघात’ पुगेको थियो ।कुनै समयमा ४ हजार हाराहारी पुगेको पार्टी सदस्य हाल २ हजार वरिपरि सीमित भएको छ । नगर कार्यपालिकामा बहुमत हुँदा समेत एमालेले दर्विलो उपस्थिति जनाउन सकेको छैन ।


