धरान । घरपायक मतदान केन्द्र राखिनु पर्ने माग गर्दै आएका सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टप्पुका स्थानीय यो वर्ष पनि निराश भएका छन् ।
बराहक्षेत्रको ६ र ९ नम्बर वडा पर्ने टप्पु सुनसरीको क्षेत्र नं। ४ पर्छ । जहाँबाट प्रतिनिधि सभामा बहालवाला सूचना, प्रविधि तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रदेश १ का पूर्व वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसैयत आमनेसामने छन् ।

यो क्षेत्रबाट दिवङ्गत पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्व उपप्रधान मन्त्री उपेन्द्र यादव, सुजता कोइरालालगायतले निर्वाचन लडिसकेका छन् ।
मुलुकका हैसियत बनाएका राजनीतिक दलका नेताहरुको निर्वाचन क्षेत्र हुँदा पनि यहाँको अपेक्षित विकास हुन नसकेको स्थानीयको गुनासो छ । वर्षाका तीन महिना टप्पुमा बन्धक हुन बाध्य यहाँका वासिन्दाले छुट्टै वडा र मतदान केन्द्रको माग गर्दै आएको दशकौं बितिसकेको छ । तर राज्यले सुनुवाई गरेको छैन ।


