स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडेका छन् । बिहीबार रियलले विज्ञप्ति जारी गर्दै फ्रान्सेली कोच जिदानले सान्टियागो बर्नाबेउ छोडेको पुष्टि गरेको छ ।
एथ्लेटिको मड्रिडसँग झिनो अङ्कले उपाधि जित्नबाट बन्चित भएको केही दिनमा नै जिदानले प्रशिक्षकको पद त्यागेका हुन् । जिदानले रियल छोडेको यो दोस्रो पटक हो ।
यसअघि लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका उनले २०१८ मा राजीनामा दिएका थिए । पुनः उनी २०१९ मा रियलको प्रशिक्षण सम्हाल्नेगरी फर्किएका थिए ।
‘जिनेदिन जिदानले क्लब छोड्ने निर्णय गरेका छन् । उनको निर्णयलाई सम्मान गर्दै आगामी भविष्यको कामना गर्छौँ । विगत तीन वर्षमा उनको योगदान अतुलनीय छ,’ रियलले विज्ञप्तिमा भनेको छ ।


